[smartslider3 slider=”2″]

हामी मानव विना प्रकृति अझ सुन्दर तरिकाले चल्न सक्छ तर प्रकृति विना मानव जीवन चल्न असम्भव छ।

माटो जोगाऔँ (Save Soil)

डिभिजन वन कार्यालयको परिचय

म्याग्दी जिल्ला बि.सं. २०१८ सालमा कायम भएको हो । म्याग्दी नदीको नामबाट जिल्लाको नामाकरण भएको पाईन्छ । हिमाली जिल्लामा सूचिकृत म्याग्दी जिल्ला समुन्द्र सतहबाट ७९० मिटर देखि ८१६७ मिटर उचाई सम्म २,२९,७०६ हेक्टर क्षेत्रफलमा फैलिएको छ र यहाँ १,१३,६४१ (जनगणना, २०६८) जनसंख्या बसोबास गर्दछन । बि.सं. २०३४ सालमा म्याग्दी जिल्ला र मुस्तांग जिल्ला हेर्ने गरी म्याग्दीमा “म्याग्दी वन डिभिजन कार्यालय” को नामबाट वन कार्यालय स्थापना भएको थियो । पछि २०४० सालमा छुट्टै ” जिल्ला वन कार्यालय, म्याग्दी” गठन भयो । २०५० देखि २०७५ सालसम्म जिल्ला वन कार्यालय मातहतमा ८ वटा रेन्जपोष्ट ( पछि ईलाका वन कार्यालय) कायम रहे भने २०७५ पश्चात गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, पोखराको मातहतमा रहने गरी “डिभिजन वन कार्यालय, म्याग्दी” को नामबाट कार्यालयको पुनर्संरचना भई जिल्लाको वन संरक्षण, सम्बर्धन, विकास र सदुपयोगका काम तथा सेवा संचालन हुदै आएको छ ।

डिभिजन वन कार्यालयको भवन बेनी नगरपालिका, वडा नं. ७, मंगलाघाट स्थित RCUP Complex मा रहेको छ भने यस मातहतमा ६ वटा सव-डिभिजन वन कार्यालयहरु ( बेनी, मंगला, मालिका, धवलागिरी, अन्नपूर्ण र रघुगंगा ) रहेका छन । सव-डिभिजन वन कार्यालयहरुको नाम र कार्यक्षेत्र जिल्लाका स्थानीय तहहरुसँग एकाकार गरिएको छ तर मुकाम भने केही फरक छ । सबै सव-डिभिजन वन कार्यालयहरुको आफ्नै भवन रहेको छ ( हेर्नुहोस सव-डिभिजन वन कार्यालयको विवरण) । यस कार्यालय र अन्तरगतका कार्यालयमा गरी कुल ४४ जना कर्मचारीको दरबन्दी रहेको छ ( हेर्नुहोस कर्मचारी दरबन्दी विवरण) । स्थापनाकाल देखि हालसम्म २४ जना व्यक्तिहरु कार्यालय प्रमुख भईसक्नु भएको छ ( हेर्नुहोस कार्यालय प्रमुखहरुको विवरण) । आ.व. २०७८।७९ सम्म यस जिल्लामा ३१५ वटा सामुदायिक वन, २ वटा धार्मिक वन, १ वटा कबुलियती वन र १० वटा दर्ता भएका निजि वन रहेका छन । १८ वटा सामुदायिक वन महिलाहरुले मात्र व्यवस्थापन गरेका छन भने ३ वटा सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापन पद्दती सहितको कार्ययोजना स्वीकृत भएका थिए ।

यस जिल्लाको कुल क्षेत्रफल (२,२९,७०६ हेक्टर) मध्ये १८,७२२ हेक्टर (गुर्जा, लुलांग) ढोरपाटन शिकार आरक्ष र ४१,६६८ हेक्टर ((नारच्यांग, शिख, घार) अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्दछ । DFRS (2017) अनुसार यस जिल्लाको ६ वटा स्थानीय तहको कुल ४७ प्रतिशत भूभाग (१,०८,४७० हेक्टर) वनले ओगटेको छ जसमा सबैभन्दा धैरै ( ३७%) वन क्षेत्र धवलागिरी गाउँपालिकामा र धेरै प्रतिशत (६४%) वन क्षेत्र मालिका गाउँपालिकामा रहेको छ । बिभिन्न जलविद्युत आयोजनाहरुले यस जिल्लाको राष्ट्रिय वन क्षेत्र भोगाधिकारमा लिई प्रयोग गरिरहेका छन । यस जिल्लामा चौडापाते, कोणधारी र मिश्रित प्रकारका वन पाईन्छ जसमध्ये खोटेसल्ला, गोब्रेसल्ला, पाटुला सल्ला, ठिंग्रेसल्ला, गुराँस, टुनी, उत्तिस, चिलाउने, मौवा, मल्लाटो, तिजु, सिमल, कटुस, चाँप, लेक चाँप (सिर्मु), खर्सु, बाँझ, फलाँट, ओखर मुख्य प्रजाती हुन । घोडेपानी क्षेत्रको गुराँसको जंगल यस प्रदेशकै शानको रुपमा रहेको छ । जडिबुटी तथा गैरकाष्ठ वन पैदावार प्रजाती तर्फ टिमुर, लौठसल्ला, जटामसी, पाँचऔले, कुट्की, यार्सागुम्बा लगायत १५८ प्रजाती पहिचान भएका छन भने अल्लो, लोक्ता, निरमसी, विषजरा, अमलवेद, भिरमह, खिरौला, रातो च्याउ, नागवेली, चिराईतो, सतुवा, तेजपात, बोझो लगायत ५५ प्रजातीको संकलन ईजाजत दिन सकिने प्रावधान रहेको छ । म्याग्दी जिल्ला टिमुरको जिल्लाको रुपमा समेत चिनिन थालेको छ । जिल्लामा टिमुर, सतुवा, दाँते ओखरको व्यवसायिक रुपले विरुवा उत्पादन र खेती विस्तारमा कृषकहरुले विशेष चासो लिएको पाईएको छ ।

डिभिजन वन कार्यालय मातहत डिभिजन वन नर्सरी, उच्च प्रविधियुक्त नर्सरी, सव-डिभिजन वन नर्सरी गरी ६ वटा नर्सरीमा जडिबुटी, काष्ठ प्रजाती, डालेघाँस, शोभनीय र फलफुल प्रजातीका विरुवाहरु उत्पादन गरी वितरण गरिदै आएको छ । बरन्जामा लेक चाँप ( सिर्मु) र घतानमा टिमुरको वन बिउ बगैचा (Seed Orchard) स्थापना भएको छ । यस जिल्लामा वन पैदावारमा आधारित ८० भन्दा धेरै उद्योगहरु दर्ता भएका छन । त्यसैगरी, यस जिल्लामा हिउँ चितुवा, हाब्रे, कस्तुरी मृग, भालु, चितुवा, रतुवा मृग, घोरल, रातो बाँदर, नाउर, वन विरालो, स्याल, फ्याउरो, मलसाप्रो जस्ता स्तनधारी, डाँफे, मुनाल, कालिज, गिद्द, जस्ता पंक्षी र सुन गोहोरो, सर्प,जस्ता घस्रने जन्तु पाईन्छन । हाल यस जिल्लामा समेत मानव-चितुवा द्वन्द र मानव-बाँदर द्वन्द ह्वात्तै बढेको पाईएको छ । यस जिल्ला प्राकृतिक र सांस्कृतिक रुपले धनी रहेकोछ जसले गर्दा पर्यापर्यटन ( Ecotourism) को प्रचुर सम्भावना रहेको छ । घोडेपानी, पुनहिल, गलेश्वरधाम, मालिका मन्दिर धुरी, रुप्से झरना, अन्ध गल्छी, सिंगा तातोपानी कुण्ड, भुरुंग तातोपानी कुण्ड, नागी गाउँ, टोड्के रिसोर्ट, धौलागिरी आईसफल, गुर्जाखानी गाउँ, दुरलेक, बेनी लभ्लीहिल, झाँक्रीपानी, बराहताल, अजिंगरेभिर आदी यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन । यस जिल्लामा १३ वटा भन्दा धेरै सामुदायिक होमस्टे संचालनमा रहेका छन । डिभिजन वन कार्यालयले वन तथा भू संरक्षण विभागद्वारा स्वीकृत पंचवर्षिय वन व्यवस्थापना कार्ययोजना ( २०७५।४।९-२०८०।३।३२) लाई मार्गदर्शन मानी प्रचलित कानून अनुसार तोकिएका जिम्मेवारीहरु, बजेट तथा कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ( हेर्नुहोस डिभिजन वन कार्यालयको कार्य विवरण, आ.व. २०७८।७९ को बार्षिक प्रगती विवरण, स्वतः प्रकाशन र आ.व. २०७९।८० को स्वीकृत वार्षिक कार्यक्रम) ।

नयाँ प्रकाशनहरु

कृषि वन एक चिनारी: ब्रुसर

चितुवाबाट हुनसक्ने खतरा र जोगिने उपायहरुः ब्रुसर